३१ भदाै,बारा । नेपाल पत्रकार महासंघ बारा शाखाका सदस्य बसन्त लामामाथि केही अराजक व्यक्तिले कुटपिट गरेको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा लामामाथि हत्याको मनसायले कुटपिट भएको उल्लेख छ। लामाका अनुसार बाराको निजगढ नगरपालिका वडा नम्बर १ मा रहेको बन्सथली हाट बजार नजिकै मोटरसाइकलमा आएका केही व्यक्तिले उनलाई कुटपिट गरेका हुन्। कुटपिटबाट लामाको शरीरका विभिन्न भागमा चोट लागेको छ।
घटनाको निन्दा र भर्त्सना गर्दै महासंघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ।
प्रकाशित समाचारप्रति असहमति भए खण्डन गर्ने कानुनी बाटो अपनाउनुको सट्टा पत्रकारमाथि नै हातपात गर्नु दुःखद भएको विज्ञप्तिमा जनाइएको छ।
महासंघले पत्रकार र पत्रकारिताको सुरक्षा सुनिश्चित गरी स्वतन्त्र र निर्भयताका साथ पेशामा लाग्ने वातावरण बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरेको छ। महासंघले घाइते पत्रकार लामाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
पत्रकार महासंघ बारा शाखाका सूचना अधिकारी तथा सहसचिव इन्दीप कोइरालाले जारी गरेको विज्ञप्तिमा यो घटनाले पत्रकारिता पेशाको सुरक्षामाथि प्रश्न उठाएको उल्लेख छ।









प्रतिक्रिया दिनुहोस् !