बिकेन्द्र सुबेदी
३१ भदाै,बाराबाराको सुवर्ण गाउँपालिकामा विषाक्त रक्सी सेवन गर्दा एक भारतीयसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बिहार घर भएका अजमुल मियाँ, सुवर्ण गाउँपालिका-३ का रविशंकर यादव र गोपाल यादव रहेका छन्।
उनीहरूले आइतबार रक्सी सेवन गरेपछि बिरामी परेका थिए। उपचारका लागि भारतको कटगेनवा बजार लगिएकोमा उपचारकै क्रममा सोमबार उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय कवहीगोठले घटनाको पुष्टि गरेको छ।
बिहारमा रक्सी प्रतिबन्ध भएकाले दशगजा क्षेत्रमा भारतीय नागरिकलाई लक्षित गरी अवैध मदिरा पसलहरू सञ्चालनमा रहेको बताइएको छ।
यस विषयमा इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक साेनु कुमार मिश्रासँग सम्पर्क गर्दा, मृतकहरूले रक्सी सेवन गरेको प्रारम्भिक जानकारी आएको, तर मृत्युको कारण विषाक्त रक्सी नै हो वा होइन भन्ने कुरा मेडिकल रिपोर्ट आएपछि मात्र खुल्ने उनले बताए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।









प्रतिक्रिया दिनुहोस् !