२७ भदाै,बारा । पूर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले भदौ २३ गते काठमाडौंमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले गरेको दमनको निन्दा गर्नुभएको छ।
उहाँले उक्त प्रदर्शनमा सहादत प्राप्त गर्ने युवाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
उहाँले भदौ २४ गते देशभर भएको प्रदर्शनका क्रममा बाराको जितपुरसिमरा-४, औराहामा रहेको आफ्नै घर र सवारीसाधनमा भएको तोडफोड र आगजनीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
तर, उहाँले यो कार्य शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेन-जेड (Gen-Z) युवाहरूले नगरेको र यसमा आफूलाई तर्साउन खोज्ने स्वार्थी समूहको हात रहेको दाबी गर्नुभएको छ।
यस्तो कार्य गर्नेहरूमाथि कानुनी कारबाही हुनुपर्ने उहाँको भनाइ छ। आफूलाई बाराका जनताले दिएको माया सबैभन्दा ठूलो सम्पत्ति भएको भन्दै भौतिक क्षतिले विचलित नहुने उहाँले बताउनुभएको छ।
जन-जेड पुस्ताको चाहना अनुसार सरकार बन्ने क्रममा रहेको भन्दै उहाँले युवालाई बधाई दिनुभएको छ। उहाँले आफ्नो पारिवारिक काम छोट्याएर चाँडै बारा फर्कने र जनताका मुद्दाहरू जस्तै वन्यजन्तुको आतंक, भूमिहीनलाई भू-स्वामित्व र सिँचाइको व्यवस्थाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ प्रयास असफल हुने भन्दै उहाँले आफू जनताको हितमा सधैँ रहने स्पष्ट पार्नुभएको छ।










प्रतिक्रिया दिनुहोस् !