२६ भदाै,बारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २६ गते जारी गरेको एक प्रेस विज्ञप्तिमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा, सामाजिक सञ्जालमा भ्रष्टाचार, नातावाद, र सुशासनको माग गर्दै Gen-Z युवाहरूले गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति पार्टी स्तब्ध भएको र यस घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ।
साथै, भदौ २४ गते देशभर भएको आगजनी, तोडफोड, हिंसा र लुटपाटको त्रासदीपूर्ण घटनाको निन्दा गर्दै यसले मुलुकलाई दशकौं पछि धकेलेको ठहर गरिएको छ।
विज्ञप्तिमा, यस विध्वंसका योजनाकार र दोषीहरूलाई कानुनको दायरामा ल्याइनुपर्ने र यति ठूलो विनाश रोक्न सुरक्षा निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा पनि समीक्षा हुनुपर्नेमा जोड दिइएको छ।
प्रधानमन्त्रीको राजीनामा पछि अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताइएको छ। सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी जस्ता युवाका सरोकारहरूलाई सम्बोधन गर्नका लागि राष्ट्रपतिलाई सार्थक संवादको पहल गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा, सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न पनि आह्वान गरिएको छ। यस विषम परिस्थितिमा नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्न सुरक्षा निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराइएको छ।
अन्तमा, एमालेले आफ्ना सम्पूर्ण पार्टी कार्यकर्ता र समर्थकहरूलाई दृढ र एकताबद्ध भएर अगाडि बढ्न, ध्वस्त भएका सार्वजनिक स्थलहरूको सरसफाइ गर्न र सामाजिक सद्भाव कायम गर्न स्वयंसेवी भूमिका खेल्न आह्वान गरेको छ।











प्रतिक्रिया दिनुहोस् !