२४ भदाै, बारा । नेपाल प्रहरीले जेन्जी (Gen Z) को आह्वानमा भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति कायम गर्न सबैलाई सहयोगको लागि अपिल गरेको छ। प्रदर्शनका क्रममा नागरिक र प्रहरीको दुःखद निधनले आफूहरू मर्माहत भएको प्रहरीले बताएको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनीहरू नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका खातिर जिम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन अत्यन्त आवश्यक भएको छ।”
विज्ञप्तिमा आन्दोलनका क्रममा भएको जनधनको क्षतिलाई अपूरणीय र दुःखद भनिएको छ। प्रहरीले बिग्रेको परिस्थितिलाई नियन्त्रणमा राख्न र नागरिक-प्रहरीबीचको शान्तिपूर्ण सहकार्यमार्फत घाइतेको उद्धार, उपचार तथा क्षतिको पुनर्निर्माण गर्न सबैलाई एकजुट हुन आग्रह गरेको छ।
प्रहरीले सार्वजनिक शान्ति र अमनचयन कायम गर्न, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुनको शासन स्थापित गर्ने कार्यमा सहयोग गर्न पनि अनुरोध गरेको छ। कुनै पनि आपराधिक समूहबाट हुने क्षतिलाई रोक्न र शान्ति पुनर्स्थापनका लागि राष्ट्रिय दायित्व निर्वाह गर्न सबै एकजुट हुनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ।
प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी गरिएको यस विज्ञप्तिमा प्रहरीलाई सहयोग गरी देशमा शान्ति स्थापना गर्न सबैलाई हार्दिक अनुरोध गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !