२४ भदाै,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन्। जेन–जी पुस्ताले देशभर गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान गएको घटनाबाट दुःखी हुँदै उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनपछि उनले राजीनामा दिएको बताइएको छ।
मुख्यमन्त्री सिंहले जारी गरेको विज्ञप्तिमा नागरिकको ज्यानको सुरक्षा गर्न नसकेको अवस्थाले आफूलाई यो निर्णय लिन बाध्य बनाएको उल्लेख गरेका छन्। “नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु,” उनले भनेका छन्।
उनले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। उनले संविधानले दिएको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै समस्याको समाधान संवादबाट मात्र सम्भव भएकोमा आफ्नो विश्वास रहेको बताएका छन्।
मुख्यमन्त्रीको रुपमा आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्। साथै, यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र पार्टीका सबै नेता, कार्यकर्ताप्रति उनले कृतज्ञता प्रकट गरेका छन्।
सतिश कुमार सिंह २०८१ साल जेठ २६ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।









प्रतिक्रिया दिनुहोस् !