२४ भदाै,काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको छ। विकसित राजनीतिक घटनाक्रम र विशेष गरी देशभर भइरहेको जेनजी युवाहरूको प्रदर्शनलाई ध्यानमा राख्दै पार्टीले यो कदम चालेको हो।
पार्टी संसदीय दलको बैठकले सबै सांसदहरुलाई राजीनामा गराउने निर्णय गर्न लागेको एक सांसदले जानकारी दिएका छन्। सहकारी ठगी मुद्दामा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेले सोमबार साँझ नै आफ्ना माग सम्बोधन नभए सबै सांसदलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका थिए।
यसैबीच, सोमबार जेनजी युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। सामाजिक सञ्जाल बन्द र सरकारको अव्यवस्थाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको दमनको रास्वपाले कडा शब्दमा निन्दा गर्दै जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो।
मंगलबार पनि देशभरका युवाहरू सडकमा उत्रिएर संसद विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्। रास्वपाका २१ जना सांसद छन्। तीमध्ये सांसद असिम शाहले भने यसअघि नै राजीनामा घोषणा गरिसकेका थिए।









प्रतिक्रिया दिनुहोस् !