२४ भदौ, काठमाडौं । जेनजी युवाहरूले सरकारविरुद्ध गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको यो बैठक आज बिहान ८:३० बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्दैछ।
बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, जेनजी आन्दोलन र आगामी दिनमा विपक्षी दलहरूले चाल्ने कदमबारे छलफल हुने नेताहरूले बताएका छन्।
१९ जनालाई सहिद घोषणा र ओलीको राजीनामाको माग
यसअघि माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका सबै १९ जनालाई सहिद घोषणा गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निर्णय गरेको थियो। साथै, सरकारविरुद्ध देशका सबै पालिकाहरूमा प्रदर्शन गर्ने निर्णय पनि माओवादीले गरेको छ।
रास्वपा बैठकमा सहभागी नहुने
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बोलाएको यो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी नहुने भएको छ। रास्वपाका प्रवक्ता मनिष झाले आजको गम्भीर अवस्थामा आफ्नो प्राथमिकता पार्टीभित्रै आन्तरिक छलफल गर्नु रहेको भन्दै बैठकमा सहभागी नहुने बताएका छन्।
उनले भने, “आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु हो।”









प्रतिक्रिया दिनुहोस् !