२४ भदाै,काठमाण्डाैं । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न भन्दै आ-आफ्नो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन्। साेमबार १९ जनाको ज्यान गएको जेनेरेसन जी (Gen Z) प्रदर्शनको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न यो कदम चालिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि काठमाडौंको सम्पूर्ण चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाइएको छ।
यो कर्फ्यु आदेश बालकुमारी पुल, कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथ भित्रका सबै भूभागमा लागू हुनेछ र यस समयमा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक अन्य सवारी साधनको आवागमन, सभा, जुलुस, र कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
त्यसैगरी, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पनि आज बिहान ७ बजेदेखि मध्यरात १२ बजेसम्मका लागि विशेष संवेदनशील क्षेत्रहरूमा कर्फ्युको समय थप गरेको जानकारी दिए।
ललितपुरमा कर्फ्यु लागू हुने वडाहरूमा वडा नम्बर २, ४, ९, १८, र २५ पर्छन् र यसमा भैंसेपाटी क्षेत्र, सानेपा क्षेत्र, र च्यासल क्षेत्रका विशेष भूभागहरू सामेल छन्। यी क्षेत्रहरूमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, वा घेराउ गर्न निषेध गरिएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरूले प्रदर्शन गर्दै आएका कारण सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो।









प्रतिक्रिया दिनुहोस् !