२३ भदाै,बारा । बारा क्षेत्र नम्बर ४ का सांसद किसान श्रेष्ठले ‘जेन जी’ युवाहरूले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनको कडा शब्दमा भर्त्सना गर्नुभएको छ । सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट जारी गर्दै सांसद श्रेष्ठले प्रहरीको गोली लागेर १८ जना युवाहरूको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
‘आज देशभर ‘जेन जी’ युवाहरूले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको अत्याचारको घोर भर्त्सना गर्दछु,’ सांसद श्रेष्ठले लेख्नुभएको छ, ‘प्रहरीको गोली लागेर मृत्यु भएका सम्पूर्ण युवाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु।’
उहाँले प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्न समेत आग्रह गर्नुभएको छ ।
सरकारले देशमा भइरहेको भ्रष्टाचार र अनियमिततामाथि आवाज उठाउने नागरिकको अधिकार कुण्ठित गरेको भन्दै श्रेष्ठले सामाजिक सञ्जालमाथि लगाइएको बन्देजको पनि विरोध गर्नुभएको छ । उहाँले युवाहरूको जायज माग पूरा गर्नुको सट्टा सरकारले उनीहरूमाथि दमन गरेकोमा खेद व्यक्त गर्नुभएको छ ।
सांसद श्रेष्ठले सरकारको यो कदमले आफूलाई ‘देशमा सरकार ढलेको मात्र नभएर मरिसकेको’ भान भएको बताउनुभएको छ । उहाँले ‘जेन जी’ युवाहरूमाथिको दमन तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस् !