२२ भदाै,बारा । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा नेपाली काँग्रेसका क्षेत्रीय सभापति मोहम्मद शहाबुद्दीनका २५ वर्षीय छोरा मोहम्मद अफताब पक्राउ परेका छन्।
आइतबार मानविकी संकाय, राजनीति शास्त्रको स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षामा नक्कली परीक्षार्थी बसेको सूचना प्राप्त भएपछि क्याम्पस प्रशासनले परीक्षा हलमा जाँच गरेको थियो। जाँचका क्रममा अफताबले बुवा मोहम्मद शहाबुद्दीनको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा फेला परेका हुन्। शहाबुद्दीनको सिम्बोल नम्बर १५२७०२३ रहेको थियो।
क्याम्पस प्रमुख मोहन यादवका अनुसार, पक्राउ परेका अफताबलाई वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाइएको छ। प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले अफताबलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए।
यस घटनामा अफताब र परीक्षा दिन लगाउने उनका बुवा शहाबुद्दीन दुवैलाई त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७०(क) अनुसार कारबाही गरिने क्याम्पस प्रमुख यादवले बताए।
यो घटनाले परीक्षा प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ। शहाबुद्दीन र उनका छोरा अफताब वीरगञ्ज महानगरपालिका-३, छपकैयाका बासिन्दा हुन्। क्याम्पस प्रशासनले यस्ता घटना भविष्यमा दोहोरिन नदिन थप कडाइ गर्ने प्रतिबद्धता जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !