१५ भदाै, बारा । नेकपा एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्गीय नेता मदन भण्डारीको योगदानलाई नयाँ पुस्तामा पुर्याउनुपर्ने बताएकी छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा कलैयाको दरबार होटलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।
भण्डारीले मदन भण्डारीले देखाएको विचार र मार्गदर्शनलाई नै मदन फाउन्डेसनले सहयोग गरिरहेको बताइन्। उनले प्रत्येक जिल्लाका युवालाई रोजगारी र उत्पादनसँग जोड्नुपर्नेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने बताइन्।
जलवायु परिवर्तनका कारण विश्वभर देखिएको समस्या र चुरे दोहनले निम्त्याएको जल संकटप्रति चिन्ता व्यक्त गर्दै भण्डारीले यस विषयमा सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याइन्। उनले नेकपा एमालेले जननेता मदन भण्डारीकाे जनताकाे बहुदलिय जनबादलाई मानेको र यो नै पार्टीको मार्गदर्शन भएको उल्लेख गरिन्।
साथै, उनले नारी शक्तिको सम्मानमा जोड दिँदै नेकपा एमालेभित्र नयाँ अन्तर्संघर्ष सुरु भएको पनि बताइन्। कार्यक्रम सुरु हुनुअघि भण्डारीले विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेको पनि बताइएको छ ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य पुरुषोत्तम पौडेल लगायत ठूलो संख्यामा कार्यकर्ता र नेताहरूको उपस्थिति रहेको थियो।









प्रतिक्रिया दिनुहोस् !