१३ भदाै,बारा । नेपाल शिक्षक महासंघले आफ्ना मागहरू पूरा गराउन सरकारमाथि दबाव बढाएको छ। केन्द्रीय प्रथम चरणको आन्दोलनअन्तर्गत शुक्रबार बाराका १६ वटा पालिकामा शिक्षकहरूले धर्ना दिएका छन् र ज्ञापनपत्र बुझाएका छन्।
कलैया नगरपालिकाको कार्यालयअगाडि बिहान ११:३० देखि दिउँसो १:३० सम्म भएको धर्नाको नेतृत्व नेपाल शिक्षक संघ, बाराका अध्यक्ष राजकिशोर सहनीले गर्नुभएको थियो। उहाँलाई शिक्षक नेताहरू अजय तिवारी, जियालाल चौधरी, मनिष यादव लगायतले साथ दिएका थिए। धर्नामा सहभागी शिक्षकहरूले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
महासंघका अनुसार ती बुँदाहरू अझै पनि कार्यान्वयनमा नआउँदा शिक्षकहरू निराश भएका छन्। महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा पनि सहमतिविपरीतका प्रावधानहरू राखिएको भन्दै आपत्ति जनाएको छ।
उनीहरूले अस्थायी शिक्षकहरूको पदपूर्ति ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला हुनुपर्ने, स्थायी शिक्षकको आवधिक बढुवाको व्यवस्था विधेयकमा समेटिनुपर्ने, अस्थायी अवधिको गणना गरिनुपर्ने, म्याद सकिएका अध्यापन अनुमतिपत्रको म्याद थप गर्ने प्रावधान राखिनुपर्ने, शिक्षकको विभागीय कारबाहीसम्बन्धी प्रावधान सहमतिअनुसार हुनुपर्ने, विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको पद र सेवा–सुविधा स्पष्ट पारिनुपर्ने, संस्थागत विद्यालयका शिक्षकका लागि अव्यावहारिक सरुवा प्रणाली हटाइनुपर्ने, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्थाको विरोध गरिएको, र शिक्षण काउन्सिल तथा राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्नेलगायतका माग राखेका छन्।
महासंघका महासचिव तुलाबहादुर थापाले सरकारले सहमति तोडेको र विधेयकले शिक्षकको हकहितमा गम्भीर अवमूल्यन गरेको बताउनुभयो। धर्नापछि शिक्षक महासंघका प्रतिनिधिहरूले पालिकाका प्रमुख कार्यकारी अधिकृतमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। महागढीमाई नगरपालिकामा भने नगर प्रमुख उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
महासंघले आफ्ना मागहरू प्रतिवेदनमा समावेश गरी प्रतिनिधि सभामा पेस नगरिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ। यदि सरकारले मागलाई गम्भीरतापूर्वक लिएन भने दोस्रो चरणदेखि अझ सशक्त आन्दोलनका कार्यक्रम
सार्वजनिक गर्ने पनि महासंघले बताएको छ।









प्रतिक्रिया दिनुहोस् !