१२ भदाै,जनकपुरधाम। मधेस प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिष्कारका बाबजुद बजेट पारित भएको भन्दै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सदनमा अवरोध गरेको हो।
बैठक सुरु हुनेबित्तिकै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थमन्त्री सुनीलकुमार यादवको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखे। उनले सुरुमा ४६१ पृष्ठको बजेट आएकोमा पछि थप २९४ पृष्ठ जोडेर ल्याइएको र त्यो बजेट प्रतिपक्षी दलको बहिष्कारका बीचमा पारित भएको आरोप लगाए।
संसदीय मर्यादाको विपरीत बजेट पारित गरिएको भन्दै यादवले भने, “संसदलाई छलेर, प्रतिपक्षीबिना बजेट पास भयो। यस्तो परम्परा संसारमा कतै पनि छैन। यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्छ, उहाँको राजीनामा नआएसम्म हामी सदन अवरोध गरिरहन्छौं।”
प्रतिपक्षीको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !