११ भदाै,काठमाण्डाै । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।
जलेको अवस्थामा फेला परेका पासवानको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले उनको बुधबार मृत्यु भएको पुष्टि गरेका छन्।
पासवानले रुबी साहको हत्या आफूले नै गरेको स्वीकार गर्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए। उनले भिडियोमा घाँटी थिचेर हत्या गरेको र आफू पनि आत्मदाह गर्ने बताएका थिए।
रुबीको शव गत शनिबार गौर बजार नजिकै एउटा सुटकेसभित्र प्याक गरिएको अवस्थामा भेटिएको थियो। सो घटनापछि प्रहरीबाट भाग्दै गरेका पासवानलाई रौतहटको माधवनारायण नगरपालिका ६, माधोपुरबाट पश्चिमतर्फको बगैँचा हुँदै बिसुनपुरवामानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला पारिएको थियो
।स्थानीयहरूले जलेको अवस्थामा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले तत्कालै उनलाई उद्धार गरेको थियो। उनलाई सुरुमा स्थानीय अस्पतालमा उपचार गराइएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले उनलाई माधवनारायण नपा ५, बिसुनपुरवा मानपुरमा जिउमा आगो लगाएको अवस्थामा फेला पारेको थियो।









प्रतिक्रिया दिनुहोस् !