११ भदाै,बारा । बाराको अमलेखगञ्जमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का ५५ वर्षीय कृष्ण प्रसाद शर्माको बिहान घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको हो।
बिहान स्कुटी लिएर घरबाट निस्केका शर्मा साँझसम्म पनि नफर्किएपछि परिवारमा चिन्ता बढेको थियो। उनीहरूको खोजी गर्दा जङ्गलमा स्कुटी र काटेको घाँस भेटिए पनि शर्मा भने बेपत्ता थिए। त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी सहायक निरीक्षक जय प्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोली र नेपाली सेनाको टोलीले खोजी अभियान चलाउँदा आधाभार जङ्गलभित्र शर्माको चप्पल र रगतका टाटा भेटिएका थिए।
लामो खोजीपछि सडकबाट करिब तीन सय मिटर भित्र जङ्गलमा उनको शव फेला परेको हो। प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा थियो भने टाउको शरीरबाट अलग भएको थियो। यो घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ।
बाघको आक्रमणबाट ज्यान गुमाएका शर्माको शवलाई थप अनुसन्धानका लागि अस्पताल पठाइएको छ। यस घटनापछि स्थानीय प्रशासनले जङ्गलमा एक्लै नजान र सतर्क रहन सबैलाई आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस् !