ईर्साद अन्सारी
११ भदाै,बारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बर्तमान प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीको कडा आलोचना गरेका छन्।
बाराको कलैयामा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीको अत्याचारले सीमा नाघेको र यसको भुक्तभोगी आफूहरू नै भएको बताए।
रौतहटमा हुने जिल्लास्तरीय प्रशिक्षणका लागि काठमाडौंबाट सिमरा हुँदै गौर जाने क्रममा अध्यक्ष नेपालले बारा पार्टी कार्यालयमा संक्षिप्त सम्बोधन गरेका थिए।
उनले वर्तमान राष्ट्रिय राजनीतिमा कुनै पनि बेला जे पनि हुन सक्ने बताउँदै ओली नेतृत्वको सरकार कहिले ढल्छ भन्न नसकिने टिप्पणी गरे। उनले भने, “राष्ट्रिय राजनीतिमा कहिले के हुने हो ठेगान छैन। कहिले यो केपी ओली नेतृत्वको सरकार ढल्छ भन्न सकिँदैन।”
नेपालले ओलीमाथि जनवादी केन्द्रीयता, बहुमतको निर्णय र कमिटी प्रणालीलाई बेवास्ता गरेको आरोप लगाए। उनले ओलीको शैलीलाई ‘एकाधिकारवादी’ र ‘हुकुमी’ भन्दै यसबाट मुक्ति पाउनु सही निर्णय भएको ठोकुवा गरे। उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रसंग पनि उठाए।
उनले ओलीले पहिला भण्डारीलाई ‘आउनुस् आउनुस्’ भनेर बोलाएको र पछि प्रतिस्पर्धी बन्ने सम्भावना देखेपछि सदस्यता नै खारेज गरिदिएकाे दाबी गरे। नेपालले ओलीका बोलीको कुनै ठेगान नभएको र यस्ता व्यक्तिबाट पिण्ड छोडाएर आफूहरूले ठीक गरेको बताए।
आफूहरूले संविधानको रक्षा गरेको दाबी गर्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको अधिवेशन तयारीमा जुट्न निर्देशन दिए। कार्यक्रममा पार्टी जिल्ला कमिटीका अध्यक्ष विजेन्द्र चौधरी, स्थायी कमिटी सदस्य दिनेश राई लगायतका नेताहरूको उपस्थिति थियो।
पार्टी कार्यालयमा चियाको चुस्कीपछि अध्यक्ष नेपाल स्थलमार्ग हुँदै गौर प्रस्थान गरेका थिए।









प्रतिक्रिया दिनुहोस् !