९ भदाै,बारा। छिमेकी वीरगन्ज महानगरपालिकामा हैजाको संक्रमण फैलिएपछि त्यसको जोखिम कम गर्न कलैया उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको छ।
उपमहानगरपालिकाले आईतबार एक सूचना जारी गर्दै नगरवासीलाई थप सावधानी अपनाउन आग्रह गरेको छ। यसै क्रममा, हैजा फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चटपटे, पानीपुरी, चाट, बासी तथा सडेगलेका माछालगायतका खुल्ला खाद्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत नाथु साहद्वारा हस्ताक्षरित सो सूचनामा होटल र रेस्टुरेन्टहरूले खाद्य पदार्थलाई सफा र सुरक्षित तरिकाले भण्डारण गरी मात्रै बेचबिखन गर्नुपर्ने कुरामा जोड दिइएको छ।
हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने र खाना खानुअघि साबुन पानीले हात धुनुपर्ने, सफा र उमालेको पानीको मात्रै प्रयोग गर्नुपर्ने तथा सडेगलेका बासी खानेकुरा नखान पनि सूचित गरिएको छ।
यसका साथै, जथाभावी दिसा-पिसाब नगर्न र शौचालयको मात्रै प्रयोग गर्न आग्रह गरिएको छ।
उपमहानगरपालिकाले यो सूचनाको पालना र आवश्यक अनुगमन तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, कलैया, सबै वडा कार्यालय, स्वास्थ्य चौकी र अस्पतालहरूलाई समेत बोधार्थ पठाएको छ। यसले नगरवासीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नका लागि स्थानीय प्रशासनको सक्रियता देखाउँछ।









प्रतिक्रिया दिनुहोस् !