९ भदाै,बारा । बाराको परवानीपुर गाउँपालिकाको वडा नं. ५, बहुअरीको मूल बाटो निर्माणमा भइरहेको अवरोध र यस विषयमा फैलाइएका भ्रामक सूचनाप्रति गाउँपालिकाले गम्भीर चासो व्यक्त गरेको छ।
गाउँपालिकाले आज आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाटो निर्माणमा भइरहेका अवरोध र भ्रमपूर्ण प्रचारबाजीको निन्दा गरेको छ।
गाउँपालिकाले विगत तीन वर्षदेखि बहुअरीको बाटो निर्माणका लागि बजेट विनियोजन गर्दै आए पनि केही व्यक्तिहरूको राजनीतिक स्वार्थका कारण काम अघि बढ्न नसकेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सर्वदलीय बाटो निर्माण संघर्ष समिति” नाम दिएर केही व्यक्तिहरूले कानुनसम्मत तरिकाले सुरु भएको निर्माण कार्यमा अवरोध पुर्याएका छन्।
यो विवादको शृङ्खला २०८० सालमा सुरु भएको थियो, जब वडा नं. ५ को बैठकले २५ फिट चौडा बाटो बनाउने निर्णय गरेको थियो। तर, केही महिनापछि २१ फिटको बाटो बनाउन माग गर्दै स्थानीयले न्यायिक समितिमा निवेदन दिए। न्यायिक समितिले २३ फिटको बाटो निर्माण गर्ने निर्णय गर्यो, तर काम फेरि रोकियो।
यसपछि, स्थानीय, राजनीतिक दलका अगुवा र वडा समितिका प्रतिनिधिहरूको संयुक्त हस्ताक्षरमा यथास्थितिमै नाप-नक्सा गरी बाटो बनाउनका लागि पुन: निवेदन दिइयो।
यसै निवेदनका आधारमा गाउँपालिकाको न्यायिक समिति र कार्यपालिकाको बैठकले वडा समितिको सुझावअनुसार बाटो निर्माण गर्ने निर्णय गर्यो। अन्ततः, २०८२ असार १४ गते गाउँसभाको १६औँ अधिवेशनले पनि सोही निर्णयलाई सर्वसम्मत रूपमा अनुमोदन गर्यो।
गाउँपालिकाले २५ फिटको बाटो बनाउँदा १०० भन्दा बढी घर र पर्खाल भत्काउनुपर्ने, २३ फिटको बाटो बनाउँदा ९७ र २१ फिटको बाटो बनाउँदा ८८ घर भत्काउनुपर्ने अवस्था रहेकोले सबैको सहमति जुट्न नसकेको बताएको छ। यही कारण, हालको अन्तिम निर्णय अनुसार १९ देखि २१ फिट चौडाइको सडक निर्माण गर्ने योजना अघि बढाइएको हो।
गाउँपालिकाका प्रवक्ता महम्मद नुरुल होदा अन्सारीले राजनीतिक र व्यक्तिगत स्वार्थका लागि सडक निर्माणमा अवरोध पुर्याइएको आरोप लगाए। उनले विज्ञप्तिमा गैरजिम्मेवार र भ्रामक प्रचार तत्काल रोकेर सार्वजनिक हितका लागि पालिकामा छलफलका लागि आउन सबैलाई आग्रह गरेका छन्। उनले कानुनसम्मत तरिकाले सडक निर्माणको कामलाई अगाडि बढाइने स्पष्ट पारेका छन्।










प्रतिक्रिया दिनुहोस् !