बिकेन्द्र सुबेदी
९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा गत चैत २५ गतेदेखि कारागारमा रहेका लामिछानेले उक्त आदेश खारेज गर्न माग गर्दै सोमबार रिट निवेदन दिएका हुन्। हाल उनी नख्खु कारागारमा छन्।
लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता आफैँ गर्न चाहेको बताएका छन्। यसअघि उनले साउन १९ गते जिल्ला अदालत रुपन्देहीमा आफ्नो भागको ठगी रकमबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत लिएर रिहा गर्न माग गर्दै निवेदन दिएका थिए।
यसअघि, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।









प्रतिक्रिया दिनुहोस् !