८ भदाै,पर्सा । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमा तीव्र रूपमा फैलिरहेको छ । आइतबार दिउँसोसम्मको तथ्याङ्कअनुसार, झाडापखालाका २२१ बिरामीमध्ये ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म हैजा तथा झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ ।
शुक्रवार एक ३५ वर्षीय पुरुषको नारायणी अस्पतालमा र एक १९ वर्षीया युवतीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएको थियो । यद्यपि, उनीहरूको मृत्युको कारण हैजा नै हो भन्ने यकिन हुन बाँकी रहेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले बताएका छन् ।
सुरुमा वीरगञ्ज-१२ को मुर्ली टोलमा देखिएको हैजा अहिले वडा नम्बर ३, ११, १२, १३, १६, १८, २४, र ३० मा फैलिएको छ । हाल १५ जना नारायणी अस्पतालमा, १२ जना तराई हस्पिटलमा, ७ जना नेशनल मेडिकल कलेजमा, २ जना अलि अर्थो सेन्टरमा, २ जना भवानी हस्पिटलमा, र २ जना नारायणी सेन्ट्रल अस्पतालमा उपचाररत छन् ।
प्रकोप नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले केही महत्त्वपूर्ण कदम चालेको छ । भदौ ८ र ९ गते महानगरका सबै विद्यालय बन्द गरिएको छ । साथै, पानीपुरी, चाटजस्ता स्ट्रिट फूडको बिक्रीमा पनि रोक लगाइएको छ । २५ टोली स्वास्थ्यकर्मी परिचालन गरी घर-घरमा सचेतना फैलाउने, सरसफाइमा जोड दिने र बिरामीलाई अस्पताल पुर्याउने काम भइरहेको छ ।
वीरगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरू पनि यस अभियानमा संलग्न छन् । खानेपानीको पाइपमा ढलको पानी मिसिएको हुन सक्ने आशंकामा प्रभावित क्षेत्रबाट ११ ठाउँको पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको छ । खानेपानी मन्त्री प्रदीप यादव र मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा प्रदेश र केन्द्रीय टोली पनि वीरगञ्जमा खटिएको छ । डाक्टरहरूले शुद्ध पानी पिउन, सरसफाइमा ध्यान दिन र कुनै पनि लक्षण देखिए तुरुन्त अस्पताल जान आग्रह गरेका छन् । समयमै उपचार गरेमा हैजा पूर्ण रूपमा निको हुने उनीहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस् !