६ भदाै,बारा । यस वर्ष बाराका १६ पालिकामध्ये महागढीमाई नगरपालिकाले तीज पर्वलाई भव्य र सभ्य रूपमा मनाएको छ।
अन्य पालिकाहरूमा सामान्य रहने यस्ता कार्यक्रमभन्दा फरक ढंगले सामाजिक दायित्व र तीजको मौलिकतालाई जोडेर नगरपालिकाले यस पर्वलाई विशेष बनाएको हो।
नगरपालिकाकी उपमेयर तारा देवी कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश नेपाली कांग्रेसका उपसभापति चन्द्रशेखर यादव प्रमुख अतिथि रहनुभयो। यस कार्यक्रमले सांस्कृतिक पर्व मनाउनुका साथै सामाजिक सद्भाव र समानतालाई पनि प्राथमिकता दिएको देखिन्छ।
तीजको मौलिकता र नारी सशक्तीकरण
कार्यक्रममा बोल्ने वक्ताहरूले महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावजस्ता विषयमा जोड दिए। उपमेयर कानुले तीजले महिलाबीच एकता, आत्मनिर्भरता र संस्कृतिको संरक्षण गर्ने बताइन्।
साथै, उनले यो पर्वले समाजमा समानता, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न प्रेरणा दिने धारणा राखिन्। तीजको अवसरमा प्रस्तुत गरिएका नृत्य, गीत तथा नारी चेतनासम्बन्धी कार्यक्रमहरूले वातावरणलाई अझै उत्साहपूर्ण बनाएको थियो।
दलित समुदायका लागि महत्वपूर्ण घोषणाहरू
कार्यक्रमका विशिष्ट अतिथि नगरप्रमुख उपेन्द्र यादवले दलित समुदायको हितमा विभिन्न महत्वपूर्ण घोषणा गरे। उनका अनुसार, अब दलित परिवारका बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराइनेछ। यसका अतिरिक्त, दलित परिवारलाई २० युनिटसम्म निःशुल्क बिजुली, रोग परीक्षणका लागि ल्याबमा २,००० रुपैयाँसम्मको निःशुल्क सुविधा, र जीवन बीमामा ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ। नगरप्रमुखको यो कदमलाई सामाजिक न्याय र समानताका लागि नगरपालिकाको प्रतिबद्धताको रूपमा हेरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेस बारा कार्यसमितिका सचिव भैयाराम यादव, महागढीमाई नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष गजेन्द्र कुमार जयसवाल, वडा नं. २ का अध्यक्ष विश्वनाथ कुशवाहा, वडा नं. ३ का अध्यक्ष उपेन्द्र जसवाल, वडा नं. ६ का अध्यक्ष गेनालाल यादव, महिला सञ्जाल अध्यक्ष बबिता जयसवाल, महिला अगुवा मेघा शाही, प्रियांका दासलगायतका जनप्रतिनिधि, महिला अगुवा र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।









प्रतिक्रिया दिनुहोस् !