४ भदाै,बारा । वीरगन्ज महानगरपालिका-३२ चोर्नीमा रहेको नारायणी स्टील्स् उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बेहरीका २५ वर्षीय उपेन्द्र चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार मंगलबार राति वेल्डिङको काम गरिरहेका बेला चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर ढलेको देखेपछि अन्य मजदुरले उनलाई राति करिब २:३० बजे अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।
मृतकका परिवारले भने समयमै उपचार नपाउँदा चौधरीको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूका अनुसार करेन्ट लागेपछि पनि उद्योग प्रशासनले अस्पताल पठाउन ढिलाइ गरेकाले यस्तो दुखद घटना भएको हो।
घटनापछि चौधरीको शव वीरगन्जस्थित नारायणी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।









प्रतिक्रिया दिनुहोस् !