४ भदाै,बारा । नेपाल बार एसोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच लामाे समय देखि चल्दै आएको जग्गा विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ।
दुवै संस्थाले मिलेर गठन गरेको उच्चस्तरीय वार्ता समितिको पहलमा भएको मिलापत्रमा मंगलबार हस्ताक्षर भएको हो।
सहमतिअनुसार, जनकपुरधामस्थित गुठी संस्थानबाट लिजमा लिइएको जग्गा अब दुवै संस्थाले बाँडफाँट गरी उपयोग गर्नेछन्। यसअनुसार, जग्गाको केही भाग नेपाल बार एसोसिएसनले पार्किङका लागि प्रयोग गर्नेछ भने बाँकी भागमा पत्रकार महासंघले आफ्नो बहुउद्देश्यीय भवन निर्माण गर्नेछ।
मिलापत्रमा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रले हस्ताक्षर गर्नुभएको छ। दुवै पक्षले विवादको क्रममा भएका घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सहमतिमा दुवै संस्थाका कार्यसमिति सदस्यहरूले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध आलोचनात्मक सामग्री पोस्ट नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, दुई दिनभित्र एकअर्काविरुद्धका सबै कानुनी कारबाही फिर्ता लिने वा निष्क्रिय बनाउने समझदारी पनि भएको छ।
यो ऐतिहासिक सहमतिले दुई जिम्मेवार पेशागत संस्थाहरूबीचको सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको छ। यसले भविष्यमा पेशागत मर्यादा, सामाजिक न्याय र लोकतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यो सहमतिलाई सम्भव बनाउन नेपाल बार एसोसिएसनका तर्फबाट केन्द्रीय सचिव अधिवक्ता बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ताहरू चन्द्र कुमार शर्मा मैनाली र श्याम कुमार मिश्र सदस्य रहेको समिति तथा नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेश कुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको समितिको भूमिका महत्त्वपूर्ण रह्यो।
यो मिलापत्रले पेशागत संस्थाहरूबीचको विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।









प्रतिक्रिया दिनुहोस् !