३ भदौ,काठमाण्डाै । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि सुरु भएको हस्ताक्षर अभियानमा नेपाली कांग्रेसभित्र मतभेद देखिएको छ ।
मंगलबार भएको हस्ताक्षरमा नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षबाट जम्मा एक जना सांसद, दिलेन्द्र बडू ले मात्रै हस्ताक्षर गरेका छन् ।
कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइराला पक्षमा १६ जना रहेको दाबी गरिए पनि हस्ताक्षर गर्नेमा बडू एक्लै देखिएका छन् । यस घटनाले कोइराला समूह उपसभामुख हटाउने निर्णयमा असहमत रहेको स्पष्ट संकेत गरेको छ ।
यसैगरी, कांग्रेसका दुई प्रभावशाली महामन्त्रीहरू, गगन थापा र विश्वप्रकाश शर्मा,ले पनि हस्ताक्षर गरेका छैनन् । थापा सोमबार साँझ उपसभामुखलाई हटाउने निर्णय भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत सहभागी थिएनन् । यद्यपि, थापा निकट मानिने सांसद सपना राजभण्डारी ले भने हस्ताक्षर गरेकी छिन् ।
यसअघि पनि गत भदौ २५ गते उपसभामुख रानालाई हटाउने प्रयास भएको थियो । त्यसबेला पनि कोइरालाले असहमति जनाएपछि यो कदम रोकिएको थियो । यसपटक पनि कोइराला पक्षको न्यून सहभागिताले कांग्रेसभित्र आन्तरिक किचलो चुलिएको देखाउँछ ।









प्रतिक्रिया दिनुहोस् !