२ भदाै,काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७, स्पेसलचोकमा आइतबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
राति पौने २ बजे बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय अर्का एक पुरुषको मृत्यु भएको हो ।
उनीहरूलाई तत्काल शिक्षक अस्पताल पुर्याइए पनि चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेका थिए । हालसम्म मृतकका आफन्त सम्पर्कमा नआएको र एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूमा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ-८, भंगाल बस्ने २४ वर्षीय एरिक परियार र नाम, थर तथा वतन नखुलेका २८-३० वर्ष र ३०-३२ वर्षका दुई पुरुष छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको पनि आफन्त खोजिरहेको छ ।









प्रतिक्रिया दिनुहोस् !