१ भदौ, जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने कानुन व्यवसायीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै पत्रकारहरूले आन्दोलन थालेका छन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा पत्रकारहरूले आज बिहानैदेखि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्।
’आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘पत्रकारहरूलाई सुरक्षा देऊ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित पत्रकारहरू धर्नामा बसेका हुन्।
यो घटना गत साउन २७ गते गुठी संस्थानबाट पत्रकार महासंघले कानुनी प्रक्रिया पुर्याएर भाडामा लिएको जग्गा संरक्षण गर्ने क्रममा भएको थियो। नेपाल बार एसोसिएसन जनकपुरका केही पदाधिकारी र अन्य कानुन व्यवसायीहरूले पत्रकारमाथि आक्रमण गर्दा महासंघका प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ सहित पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।
यस घटनाका दोषी पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गरिए पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेको भन्दै पत्रकारहरूले आक्रोश व्यक्त गरेका छन्। दोषीमाथि तत्काल कारबाही नभएसम्म आन्दोलन जारी रहने पत्रकारहरूले बताएका छन्।









प्रतिक्रिया दिनुहोस् !