२८ साउन,बारा । शुभ -आरम्भ राष्ट्रिय दैनिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारिताको महत्त्व र विकासका विषयमा गहन छलफल भएको छ।
कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य प्रमोद गुप्ता र विशिष्ट अतिथि कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले पत्रकारिताको समाज रुपान्तरणमा रहेको महत्त्वपूर्ण भूमिकामाथि जोड दिनुभयो।
प्रमुख अतिथि गुप्ताले पत्रकारितालाई लोकतन्त्रको चौथो अंगको संज्ञा दिँदै भन्नुभयो, “पत्रकारिता समाजको ऐना हो। निष्पक्ष पत्रकारिताले मात्रै सरकारलाई जवाफदेही बनाउन र नागरिकलाई सचेत गराउन सक्छ।” उहाँले राष्ट्रिय दैनिक पत्रिकाको पाँच वर्षको सफल यात्राको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ बढी सफलता मिलोस् भन्दै शुभकामना दिनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि तथा मेयर साहले पत्रकारिताको स्वतन्त्रता र विकासका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकार महासंघको कार्यालयसम्म पुग्ने बाटोको अवस्था राम्रो नभएकोबारे ध्यानाकर्षण गर्दै यही आर्थिक वर्षभित्र बाटो निर्माण गरिदिने घोषणा गर्नुभयो। “पत्रकारिताको विकासमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ,” उहाँले भन्नुभयो, “पत्रकार महासंघको कार्यालयसम्मको बाटो निर्माण गर्ने मेरो घोषणा हो।”
यसबाहेक, नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष रमेश सुवेदीले पत्रकारितालाई दिगो बनाउनका लागि समानुपातिक विज्ञापन वितरणको आवश्यकता औंल्याउनुभयो। उहाँले बाराका सबै पालिका र नगरपालिकालाई सबै दैनिक पत्रिका, एफएम र अनलाइन सञ्चार माध्यमहरूलाई समानुपातिक रूपमा विज्ञापन उपलब्ध गराउन अनुरोध गर्नुभयो।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, प्रदेश कोषाध्यक्ष अनिल गौरव, सदस्य साजिर मंसुर र नागरिक समाजका अध्यक्ष उमेशलाल दास लगायतले पत्रिकालाई शुभकामना दिनुभएको थियो। उपेन्द्र पासवानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सञ्चारकर्मी, नागरिक समाजका अगुवा, राजनीतिकर्मी र स्थानीय प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।









प्रतिक्रिया दिनुहोस् !