२८ साउन,बारा । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमण र जग्गा कब्जा गर्ने प्रयासको अध्ययन गर्न एक मिसन टोली गठन गरेको छ।
महासंघको मधेस प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानुनी प्रक्रिया पूरा गरी लिएको जग्गा संरक्षण गर्ने क्रममा भएको घटनाको छानबिन गर्न यो टोली गठन गरिएको हो।
साउन २७ गते भएको घटनामा धनुषा जिल्ला बारका अध्यक्ष विमल मिश्रको नेतृत्वमा आएको समूहले पत्रकार महासंघका प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति लगायतका पत्रकारहरूमाथि आक्रमण गरेको थियो।
यस घटनाको सत्यतथ्य बुझ्न र प्रतिवेदन पेस गर्नका लागि महासंघको केन्द्रीय समितिले लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा तीन सदस्यीय मिसन टोली बनाएको छ। टोलीका सदस्यहरूमा केन्द्रीय सदस्यहरू राजेशकुमार कर्ण र राजु विश्वकर्मा रहेका छन्।
यो टोलीले सबै सरोकारवाला पक्षहरूसँग छलफल र परामर्श गरी यथाशीघ्र प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदनका आधारमा महासंघले थप कदम चाल्ने महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।










प्रतिक्रिया दिनुहोस् !