२७ साउन,बारा । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थलमा कानून व्यवसायीहरूको समूहले गरेको आक्रमणप्रति प्रेस सेन्टर नेपाल मधेस प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शहीद चौकस्थित श्रीराम मन्दिर गुठीको जग्गा २० वर्षका लागि लिजमा लिएर महासंघले कार्यालय भवन निर्माणको काम अगाडि बढाएको थियो। महासंघले जग्गाको वरिपरि तारबार लगाइरहेको बेला नेपाल बार एसोसिएसन धनुषाका अध्यक्ष विमल मिश्रको नेतृत्वमा आएको समूहले अनाधिकृत हस्तक्षेप गर्दै पत्रकारहरूमाथि आक्रमण गरेको प्रेस सेन्टर नेपालले जनाएको छ।
प्रेस सेन्टर नेपालले यो घटनालाई प्रेस स्वतन्त्रता र संस्थागत मर्यादामाथिको खुला हस्तक्षेपका रूपमा लिएको छ।
साउन २७ गते भएको उक्त घटनामा धनुषा बार एसोसिएसनका अध्यक्ष मिश्रको नेतृत्वको समूहले महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, विनिता यादव लगायतका पत्रकारहरूमाथि भौतिक आक्रमण गरेको थियो। प्रेस सेन्टर नेपालले यस घटनाको घोर भर्त्सना र निन्दा गरेको छ।
प्रेस सेन्टर नेपालले न्यायका लागि लड्नेहरू नै आपराधिक शैलीमा सञ्चारकर्मीमाथि जाइलाग्नुले पीडितहरूको पक्षमा कानून व्यवसायीहरूले गर्ने बहस र पीडितले पाउने न्यायमाथि गम्भीर प्रश्न खडा गरेको बताएको छ।
कानूनी राज्य र विधिको शासनमाथि समेत प्रश्न उठाउने यस्ता कार्यको विरोध गर्दै प्रेस सेन्टर नेपालले घटनामा संलग्न दोषीहरूमाथि अविलम्ब कानूनी कारबाही गर्न जोडदार माग गरेको छ।
साथै, घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था मिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घाइते पत्रकारहरूको स्वास्थ्य लाभको कामना पनि गरेको छ।
यो विज्ञप्ति प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटेले जारी गरेका हुन्।









प्रतिक्रिया दिनुहोस् !