२७ साउन,काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
निजामती सेवा विधेयकको ‘कु्लिङ पिरियड’मा भएको हेरफेरको छानबिन गर्न गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामाको घोषणा गरेका हुन्।
आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले आफू दोषी नभए पनि जिम्मेवारी बोध गर्दै राजीनामा दिएको बताए। उनले भने, “प्रतिवेदनमा ‘जिम्मेवारी’ भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु।”
संसदीय छानबिन समितिले राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको थियो। छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि सभापति खतिवडा पनि यस घटनामा जिम्मेवार रहेको भन्दै प्रश्न उठिरहेको थियो। यसै विवादका बीच उनले पदबाट राजीनामा दिएका हुन्।









प्रतिक्रिया दिनुहोस् !