२५ साउन,बारा । बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको छ।
इलाका प्रहरी कार्यालय छतवाका वरिष्ठ सई अरुण यादव र तस्कर समूहबीचको मिलेमतोले गर्दा यस नाकाबाट निर्वाध रूपमा तस्करी भइरहेको आरोप लागेको छ।
प्रहरी र तस्करबीचको ‘सेटिङ’ यति बलियो छ कि प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङको निर्देशनलाई समेत बेवास्ता गरिएको छ। चार दिनअघि एसपी तामाङले तस्करीबारे सूचना पाएपछि सई यादवलाई कार्यालयमा बोलाएर कडाईका साथ निर्देशन दिएका थिए।
तर, एसपीको निर्देशन लत्याउँदै सई यादवले तस्कर समूहलाई ‘लाइन’ दिएको आरोप छ।
तस्करहरूले भारतीय बजार रक्सौलबाट मोटरसाइकल र साइकलको प्रयोग गरी सटिङ सुटिङ कपडा, रजनीगन्धा, काजु, हार्डवेयरका सामान, मोबाइल पार्ट्स,चिनी र कम्प्युटर पार्ट्सजस्ता सामानहरू नेपाल भित्र्याउने गर्छन्।
तस्करीका सामानहरू बीरगञ्ज,कलैया, प्रसौनी, जितपुर र परवानीपुर हुँदै पिकअप, बस र ट्रकको माध्यमबाट र केहिले ट्रान्सपााेर्ट मार्फत देशभरका प्रमुख शहरहरूमा पुर्याइन्छ। सई यादवले तस्करहरूसँग समन्वय गर्न घुमुवा प्रहरीसमेत परिचालन गरेको आरोप छ।
करीब दुई दर्जन ठूला र साना तस्कर समूह सई यादवको सेटिङमा सक्रिय छन्। प्रहरी र तस्करको यस किसिमको मिलेमतोले राजस्वमा ठूलो घाटा पुग्नुका साथै सुरक्षा चुनौती पनि बढाएको छ ।









प्रतिक्रिया दिनुहोस् !