२१ साउन,सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा भारततर्फ मदिरा तस्करी गर्ने समूह र प्रहरीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ। झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको हो।
मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोली कमलपुर पुगेको थियो। प्रहरीलाई देखेपछि तस्कर समूहले उल्टै आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
प्रहरीको गोली तिघ्रामा लागेर घाइते भएका यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरेका छन्।
तस्कर समूहको ढुंगामुढाबाट एक जना प्रहरी पनि घाइते भएका छन्। प्रहरीले गोली चलाएपछि तस्करहरू केही कार्टुन मदिरा छाडेर भागेका थिए। प्रहरीले घटनास्थलबाट मदिरा बरामद गरेको छ।









प्रतिक्रिया दिनुहोस् !