१७ साउन,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ स्थित सिर्सिया कुलोमा उद्योगको प्रदूषित पानीमा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका छन्।
बालकको मृत्युपछि दोषी उद्योगहरूमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्।
शुक्रबार दिउँसो सिर्सिया कुलोमा डुबेर बालकको मृत्यु भएको थियो। यस कुलोमा गणपति घ्यू, नन्दन घ्यू र अशोक स्टील लगायतका उद्योगहरूबाट प्रशोधन नगरिएको रासायनिक पानी बग्ने गरेको स्थानीयको भनाइ छ।
नारायणी उपक्षेत्रीय अस्पतालको पोस्टमार्टम रिपोर्टले पनि बालकको मृत्यु विषाक्त पानीका कारण भएको पुष्टि गरेको छ।
घटनापछि आक्रोशित स्थानीय र मृतककी आमा अञ्जु मुखियाले शनिबार जीतपुरसिमरा-३ स्थित गणपति र नन्दन उद्योगको गेटअगाडि बालकको शव राखेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले उद्योगको लापरबाहीले निर्दोष बालकको ज्यान गएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
यता, जीतपुरसिमरा उपमहानगरपालिकाले उद्योगबाट प्रदूषित पानी छोड्ने ह्युम पाइप हटाएर खाल्डो पुरेको छ। यसअघि पनि नगरपालिकाले यस्ता पाइप हटाउँदा उद्योगहरूले फेरि जडान गर्ने गरेको स्थानीयले गुनासो गरेका छन्।
बारम्बारको चेतावनी र कारबाहीका प्रयासका बाबजुद पनि उद्योगहरूले अटेर गरेको भन्दै स्थानीयहरू चिन्तित छन्। यस प्रदूषित पानीले मानवीय क्षति मात्र नभई वातावरणमा समेत गम्भीर असर पुर्याएको उनीहरूको भनाइ छ। घटनापछि सो क्षेत्रको माहोल तनावग्रस्त बनेको छ।









प्रतिक्रिया दिनुहोस् !