सञ्जय मिश्रा
१० साउन, हरिद्वार । देवसंस्कृति विश्वविद्यालय, शान्तिकुञ्जमा नवप्रवेशी विद्यार्थीहरूले नयाँ शैक्षिक सत्रको सुरुवात आध्यात्मिक वातावरणमा सामूहिक ध्यान साधनामार्फत गरेका छन्। विश्वविद्यालयको परम्परा अनुसार भारत, नेपाल तथा अन्य देशहरूबाट आएका सयौँ विद्यार्थीहरूले शान्तिकुञ्जस्थित युगऋषि पं. श्रीराम शर्मा आचार्य तथा वन्दनीया माता भगवती देवी शर्मा जीको पावन समाधि स्थलमा सामूहिक ध्यान गरेका थिए।
विद्यार्थीहरूले ‘ज्योति अवधारण साधना’मा सहभागी भई आत्मचिन्तन र आन्तरिक अनुशासनतर्फ पहिलो कदम चालेका छन्। विश्वविद्यालयका अद्वितीय शैक्षिक कार्यक्रमहरू तथा जीवनमूल्यहरूको कारण देवसंस्कृति विश्वविद्यालय आजको युवा पुस्ताको पहिलो रोजाइ बन्दै गएको छ।
शान्तिकुञ्ज व्यवस्थापक श्री योगेन्द्र गिरिजीले विद्यार्थी जीवन केवल किताबी ज्ञानमा सीमित नहुनु पर्ने बताउँदै, नैतिकता, आत्मविकास र समाजप्रति उत्तरदायित्वको भावना अनिवार्य रहेको बताए। उनले भने, “देवसंस्कृति विश्वविद्यालयमा शिक्षा मात्र होइन, संस्कार पनि दिइन्छ, जसले विद्यार्थीहरूको समग्र व्यक्तित्व निर्माणमा सहयोग पुर्याउँछ।”
उनले युग निर्माण सत्संकल्पका १८ सूत्र उल्लेख गर्दै जीवनको अभीष्ट लक्ष्यलाई सधैँ स्मरण गर्न आग्रह गरे। साथै श्री उदय किशोर मिश्र, सौरभ मिश्र लगायतले पनि विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रेरणा प्रदान गरे।
शैक्षिक सत्रको यस आध्यात्मिक आरम्भले विद्यार्थीहरूमा नयाँ उत्साह र आत्मविश्वास देखिएको छ।
उल्लेखनीय छ, विश्वविद्यालयका कुलाधिपति श्रद्धेय डा. प्रणव पण्ड्या स्वयं समय-समयमा कक्षा लिँदै गीता, रामचरितमानस तथा जीवन व्यवस्थापन जस्ता विषयमार्फत युवाहरूलाई जीवनको सही दिशा देखाउँदै आइरहनु भएको छ।









प्रतिक्रिया दिनुहोस् !