१० साउन,बारा । बारा प्रहरीले विशेष सूचनाका आधारमा करिब ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको भन्सार छलीका सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्तिअनुसार साउन ९ गते राति करिब १० बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २, सिमरा चोकस्थित राजमार्गमा वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बिल बिजकभन्दा फरक र भन्सार छलीको आशंकामा उक्त ट्रकमा रहेका कपडा, साइकल पार्टपुर्जा, केमिकल, विभिन्न औषधि र अन्य खुद्रा सामानहरू बरामद गरिएको हो। प्रहरीले ट्रकसहित बरामद गरिएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !