७ साउन,रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिवेला हाइस्कुल नजिक गए राति जंगली हात्तीको आतंकले स्थानीय बासिन्दाको जीवन त्रासमय बनेको छ। जंगली हात्तीले स्थानीय निरास कुमर र मेघनाथ कछडियाको घरमा आक्रमण गरी ठूलो क्षति पुर्याएको छ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख ईन्सपेक्टर रुपेश झाले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए। तर, प्रहरीको भनाइ सुन्दा मात्र पुग्दैन, स्थानीयको जीउधनको सुरक्षामा अझ गम्भीर चासो आवश्यक देखिएको छ।
जंगलबाट आउने हात्तीहरूले रातको सुताइ हराम बनाइदिएको छ। जुडिबेला माविका प्रधानाध्यापक जुगल किशोर सिँहका अनुसार, पछिल्ला दिनहरूमा जंगली हात्तीले घर भत्काउने, फलफूल नष्ट गर्ने, बाली कुल्चने, नाली भत्काउने जस्ता गतिविधिहरू बारम्बार दोहोरिएका छन्। तर, सरोकारवाला निकाय भने ‘मौन दर्शक’ मात्र बनेको आरोप लगाइएको छ।
स्थानीयवासीको धैर्यको बाँध अब चुँडिन थालेको छ। पटक–पटक यस्ता घटनाबाट हैरान भएका स्थानीय अब कडा आन्दोलनमा उत्रने चेतावनी दिइरहेका छन्। “दिनदिनै ज्यानको जोखिममा बाँच्नुपर्ने? सरकारको जिम्मेवारी कहाँ गयो?” एक स्थानीय बासिन्दाले आक्रोश पोखे।
यदि समयमै सरकारी निकाय गम्भीर नभए, चन्द्रपुरमा आन्दोलनको झिल्का जुनसुकै बेला सल्किन सक्छ।
स्थानीयहरूको माग छ – वन्यजन्तुको नियन्त्रण, पीडितको राहत, र दीर्घकालीन सुरक्षा रणनीति बनाई जनतालाई राहत दिनु पर्ने स्थानिय समाजसेवी प्यारो कार्कीले सरोकारबाला निकासंग माग गरेका छन ।
सरकार गम्भीर नभएसम्म, जंगली हात्तीको आतंक मात्रै होइन, चन्द्रपुरमा जनआन्दोलनको हुंकार पनि सुनिने सम्भावना प्रबल देखिन्छ।









प्रतिक्रिया दिनुहोस् !