६ साउन,बारा । जिल्ला प्रहरी कार्यालय, बाराले ४ हजार ८ सय एम्पुल प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
साउन ६ गते दिउँसो करिब २ बजे प्रहरी चौकी कचोर्वा, बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सिम्रौनगढ नगरपालिका-९, पिठवाबाट पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक सोमप्रसाद रिमालको कमाण्डमा खटिएको टोलीले ज ८ प ५४२१ नम्बरको मोटरसाइकल शंकास्पद देखिएपछि रोकेर जाँच गर्दा मोटरसाइकलको पछाडि सवार व्यक्तिले बिचमा बोकेको स्याउको दुई वटा कार्टुनभित्र लुकाएर राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरेको हो ।
कार्टुनको माथि स्याउ राखिएको भए पनि तल प्रतिबन्धित लागुऔषध लुकाइएको थियो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक सर्लाही रामनगर गाउँपालिका-१, धुर्वा टोल बस्ने करिब २० वर्षीय राजेश गुप्ता र सोही मोटरसाइकलको पछाडि सवार बारा जीतपुर सिमरा उपमहानगरपालिका-७, खडका टोल बस्ने करिब २४ वर्षीय नसिर अंसारी रहेका छन् ।
बरामद गरिएका लागुऔषधमा १ एक हजार छ सय पिस नोफिन, १ एक हजार छ सय पिस फेनारगन र १ एक हजार छ सय पिस डाईजोपाम रहेका छन् । कुल ४ चार हजार आठ सय पिस लागुऔषधसहित मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !