५ साउन,बारा । मधेश प्रदेशको राजनीतिमा ठूलो हलचल मच्चाउँदै, पूर्व संविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस प्रसाद साह र जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच जना वडा अध्यक्षका प्रत्यासीसहित करिब ७ सय जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
बारा सदरमुकाम कलैयामा आज जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नवप्रवेशीहरूलाई भव्य समारोहका बीच स्वागत गरेका हुन्।
जनमत पार्टीमा प्रवेश गर्नेहरूमा विभिन्न स्थापित दलका सक्रिय सदस्यहरू सामेल छन्। यस प्रवेशले जनमत पार्टीको मधेश प्रदेशमा संगठन विस्तार र प्रभावमा महत्वपूर्ण वृद्धि हुने देखिएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष डा. सिके राउतले नवप्रवेशीहरूलाई जनमत पार्टीको सिद्धान्त र लक्ष्यप्रति प्रतिबद्ध भएर काम गर्न आह्वान गरे। उनले देश र जनताको सेवाका लागि जनमत पार्टी सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता पनि व्यक्त गरे।
यस सामूहिक प्रवेशले आगामी निर्वाचनहरूमा जनमत पार्टीको स्थिति थप बलियो बनाउने विश्लेषकहरूले बताएका छन्। विशेषगरी मधेश प्रदेशमा, जहाँ राजनीतिक समीकरणहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन्, यो घटनाले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएको छ। नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले जनमत पार्टीको एजेन्डा र डा. राउतको नेतृत्वबाट प्रभावित भई पार्टी प्रवेश गरेको बताएका छन्।









प्रतिक्रिया दिनुहोस् !