५ साउन,जनकपुरधाम । जनकपुरधामस्थित होटल एसपी एण्ड गेष्टहाउसमा शनि भनिने विमलेश यादवको हत्याको आरोपमा एक युवतीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका-७ की २४ वर्षीया जुली झा छिन्।
धनुषा प्रहरीले उनलाई आज सार्वजनिक गर्दै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
प्रहरीका अनुसार, महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय मृतक शनिमाथि गेस्टहाउसमा छुरा प्रहार गरिएको थियो र उनलाई एक तल्लाबाट तल खसालिएको थियो। उनको आइतबार बिहान उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो।
घटनाको अनुसन्धानका क्रममा झाको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ।प्रहरीका अनुसार घटनापछि झा गेस्टहाउसबाट भागेको सिसिटीभी क्यामेरामा कैद भएको थियो। अनुसन्धानबाट मृतक शनि र पक्राउ परेकी झा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गेस्टहाउसमा प्रवेश गरेको पनि खुलेको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार उनीहरूको सम्बन्ध र हत्याको कारणबारे थप अनुसन्धान भइरहेको छ।









प्रतिक्रिया दिनुहोस् !