४ साउन,जनकपुरधाम । जनकपुरको जिरोमाइलस्थित एक होटलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।
प्रहरीका अनुसार महोत्तरी गाउँपालिका-१ पर्साका २८ वर्षीय बिमलेश यादव, जो ‘शनि’ नामले पनि चिनिन्थे, को विभत्स ढंगले हत्या गरिएको हो।
शनिबार राति करिब ३ बजे जनकपुरको एसपी एन्ड गेस्ट हाउसमा शनिमाथि धारिलो हतियार प्रहार गरिनुका साथै एक तला माथिबाट खसालिएको अवस्थामा उनी फेला परेका थिए।
गम्भीर घाइते अवस्थामा उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्याइए पनि आइतबार बिहान ७:४५ बजे उनको उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार शनिबार राति बिमलेश एक युवतीसँगै उक्त होटलमा बस्न गएका थिए। प्रहरीको प्रारम्भिक अनुमानले ती युवतीकै संलग्नतामा हत्या भएको हुन सक्ने संकेत गरेको छ।

हाल मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !