३ साउन,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२, जानकी टोलबाट हिजो दिउँसो जुवा खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले हिजो दिउँसो करिब ३ बजे जानकी टोलस्थित केशव सुनुवारको घरमा छापा मारेको थियो। प्रहरीले घरको तेस्रो तल्लामा उनीहरू जुवा तास खेलिरहेको अवस्थामा फेला पारेको हो।
घटनास्थलबाट प्रहरीले नगद १ लाख ५४ हजार ६ सय ८० रुपैयाँसहित ताससमेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-१ का ३० वर्षीय सुसन खाती सुनार र ५१ वर्षीय राज कुमार भट्टराई रहेका छन्।
त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका-२ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय कुमार श्रीवस्ताव, ४१ वर्षीय केशव सुनुवार (घरधनी), ५२ वर्षीय थहल बहादुर विश्वकर्मा, ५४ वर्षीय शिवजी प्रसाद साह र ५९ वर्षीय बलराम कुमार क्षेत्री पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई अहिले प्रहरी हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !