३ साउन,बारा । बाराको सिम्रौनगढका व्यापारी र किसानहरूले प्रहरीको ज्यादती, खाद्यान्न अभाव र छोटी भन्सार सञ्चालनको माग गर्दै बिहीबारदेखि सुरु गरेको आन्दोलन शुक्रबार साँझ उधारो सहमतिमा टुङ्गिएको छ।
आन्दोलनकारीले शुक्रबार बिहानै सिम्रौनगढस्थित पावरहाउस नजिक गण्डक नहरको बाटोमा टायर बालेर प्रहरीविरुद्ध नाराबाजी गर्दै यातायात अवरुद्ध पारेका थिए।
“छोटी भन्सार सञ्चालन गर”, “मल, खाद, बीउ उपलब्ध गराऊ” जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका आन्दोलनकारी र स्थानीय प्रशासनबीच शुक्रबार बेलुका ४ बजेसम्म चलेको वार्तामा सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।
सिम्रौनगढ उद्योग वाणिज्य संघको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसँग भएको छलफलमा छोटी भन्सार सञ्चालनका लागि पहल गर्ने र यसका लागि राजनीतिक पहल पनि आवश्यक रहेको सहमति भएको छ। यसका साथै, किसानले भारतबाट एक पटकमा दुई बोरासम्म मलखाद ल्याउन पाउने र घरायसी सामान ल्याउँदा प्रहरीले हस्तक्षेप नगर्ने सहमति भएको उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले जानकारी दिए।









प्रतिक्रिया दिनुहोस् !