२ साउन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ।
राप्रपाले नेपालमा भ्रष्टाचार महामारीका रूपमा फैलिएको भन्दै सबै भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
अदुअआका प्रमुख आयुक्तलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा नेपालमा भ्रष्टाचार केन्द्र, प्रदेश र स्थानीय तहसम्म फैलिएको र मन्त्रीहरूको संलग्नतामा भ्रष्टाचारका घटनाहरू सार्वजनिक भइरहेको उल्लेख छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा नेपाल भ्रष्ट राष्ट्रहरूको सूचीमा पर्नु लज्जाको विषय भएको राप्रपाले बताएको छ।
ज्ञापनपत्रमा सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेललगायतका ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायराबाहिर पर्नुले आयोगको निष्पक्षतामा प्रश्न उठेको उल्लेख छ। राप्रपाले राजनीतिक नेतृत्वको संरक्षणविना ठूला भ्रष्टाचार हुन नसक्ने भन्दै राजनीतिक क्षेत्रलाई छानबिनको दायरामा नल्याएसम्म भ्रष्टाचार नियन्त्रण असम्भव रहेको ठहर गरेको छ।
हालैका नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्टलगायत निर्माण सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि, भिजिट भिसा र मन्त्रीहरूको अडियो प्रकरणजस्ता घटनाले नेपाल र नेपाली जनतालाई विश्वसामु बदनाम गरेको राप्रपाको भनाइ छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खरबौं कृषि अनुदानको दुरुपयोगलगायतका चर्चित र ठूला भ्रष्टाचार काण्डहरूमा भइरहेको ढिलासुस्ती र उदासीनताप्रति पनि राप्रपाले गम्भीर ध्यानाकर्षण गराएको छ।
राप्रपाले सबै नयाँ तथा पुराना भ्रष्टाचार काण्डहरूमाथि पुनः व्यापक छानबिन गर्न र राजनीतिक नेतृत्वलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेको छ। “भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो” भन्ने मान्यतामा राप्रपाको दृढ विश्वास रहेको र सधैं भ्रष्टाचारविरुद्ध रहने अध्यक्ष लिङ्देनले बताए।









प्रतिक्रिया दिनुहोस् !