२ साउन,बारा । बाराको शुवर्ण गाउँपालिकामा व्यापक आर्थिक अनियमितता उजागर भएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले गाउँपालिका प्रमुख राजेश प्रसाद यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत ससजित कुमार यादवले कुनै पनि आवश्यक कागजात बिना नै लाखौं रुपैयाँ भुक्तानी गरेको औंल्याएको छ ।
‘यादव द्वय’ मिलेर गाउँपालिकामा चरम लुट मच्चाउँदा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन रहनुले सरकारको भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।
अधुरा निर्माण कार्यमा चरम अनियमितता
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ मा वास्तविक कार्य सम्पादनको आधारमा भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।
तर, शुवर्ण गाउँपालिकाले विगतमा अधुरा रहेका कार्यहरू सम्पन्न गर्नका लागि लागत अनुमान तयार गरी कार्य गरेको देखिए पनि, परीक्षण गरिएका भौचरहरूमा पिसिसी सडक निर्माण कार्य, माटो खन्ने तथा पुर्ने कार्य, बाटो ढलान कार्य जस्ता आइटमहरू समावेश गरिएको छ । यी आइटमहरू तयार गर्दा विगतमा भएको कार्यको प्रमाण (लागत अनुमान/कार्य सम्पन्न) आधार संलग्न गरेको देखिएको छैन ।
लेखापरीक्षणको समयमा विगतको कामको विवरण माग गर्दा पेश हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । विगतमा भएको कामको नापी विवरण तथा प्राविधिक अभिलेख संलग्न नराखी कार्य गराउँदा दोहोरो भुक्तानी भएको हुन सक्ने देखिएको छ । भुक्तानी दिँदा दोहोरो नपरेको यकिन गरी विश्वसनीय आधार र प्रमाण संलग्न राखेको नदेखिएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदनले देहाय बमोजिमका परीक्षण गरिएका योजनाहरूको प्राविधिकबाट विगत वर्षमा भएको कार्य परिणामको नापी तथा हाल भएको कार्यको लागत अनुमान तुलना गरी दोहोरो नपरेको यकिन गरी प्रमाण पेश गर्नुपर्ने औंल्याएको छ ।
| ३२-०८०।७।२२ | अधुरो सतसंग भवनको छत ढलान र कम्पाउन्ड वाल निर्माण | १४,५०,९६७ |
| १०२-०८१।२।३१ | अधुरो नेरा आ.वि. जमुनिया निर्माण कार्य | १२,७०,८०१ |
| १८६-०८१।३।२४ | अधुरो सटर निर्माण सतगंज | ८,३३,५५४ |
| १९६-०८१।३।२४ | अधुरो छढीघाट तथा सेड निर्माण वडा नं. १ | ४७,२२,५०६ |
| जम्मा | | ८२,७७,८२८ |
कुल ८२ लाख ७७ हजार ८ सय २८ रुपैयाँ बराबरको भुक्तानीमाथि गम्भीर प्रश्न उठेको छ ।
* निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा ‘सेटिङ’ को आशंका
स्रोतका अनुसार, सुरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नबनाउने घोषणा गरेका पुर्वमन्त्री गुप्ताले पछि सुजित कुमार यादवलाई बाराको शुवर्ण गाउँपालिकामा निमित्त बनाएका थिए ।
यो नियुक्तिमा ठूलो रकमको लेनदेन भएको स्रोतको दाबी छ । २० लाख रुपैयाँको कारोबार भएपछि सुजित कुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।
* शून्य सहनशीलतामाथि प्रश्नचिन्ह
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिए पनि शुवर्ण गाउँपालिकाको यो घटनाले त्यस नाराको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ । खुलेआम लाखौंको अनियमितता हुँदा र महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कदम नचाल्नुले आम नागरिकमा निराशा छाएको छ । यसले भ्रष्टाचार नियन्त्रणमा सरकारी निकायको प्रतिबद्धतामाथि गम्भीर सन्देह पैदा गरेको छ ।
यस प्रकरणमा संलग्न दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न र अनियमितता भएको रकम असुलउपर गर्न सरोकारवाला निकायको ध्यान जानु आवश्यक देखिन्छ । अन्यथा, सरकारको ‘शून्य सहनशीलता’ को नारा नारामै सीमित हुनेछ ।









प्रतिक्रिया दिनुहोस् !