१ साउन,बारा । कलैया उपमहानगरपालिकाको वडा नम्बर १५ ले जिल्ला प्रशासन कार्यालय, बारामा एक ज्ञापन पत्र बुझाउँदै साविक गा.वि.स. दोहरी, हाल कलैया उपमहानगरपालिका वडा नम्बर १५, बकुलहर टोलमा निर्माणाधीन शिवम सुगर एन्ड केमिकल प्रा.लि. बाट हुन सक्ने वातावरणीय तथा सामाजिक समस्याहरूप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
वडा अध्यक्ष अशोक कुमार तिवारीले जिल्ला प्रशासन कार्यालयका प्रमुख वसन्त अधिकारीलाई बुझाएको उक्त ज्ञापन पत्रमा विशेषगरी कलैया उपमहानगरपालिकाका वडा नम्बर २७, २६, १५, १४, ९ र ११ मा पर्न सक्ने गम्भीर असरहरूबारे विस्तृत रूपमा उल्लेख गरिएको छ।
ज्ञापन पत्रमा उद्योगबाट निस्कने फोहर पानीको उचित व्यवस्थापनमा जोड दिइएको छ। वाटर ट्रिटमेन्ट प्लान्ट, प्रदूषित पानी भण्डारणको व्यवस्था र पानी निकासको नक्सा पास नगरी फोहर पानी सिधै नदीमा मिसाउन नहुने माग गरिएको छ। यदि फोहर पानी नदीमा मिसाइएमा यसले वरपरको वातावरणलाई दूषित पार्ने गम्भीर चिन्ता व्यक्त गरिएको छ।
यसका साथै, उद्योगबाट हुने प्रदूषणले कृषि तथा जीविकोपार्जनमा पर्न सक्ने असर प्रति पनि ध्यानाकर्षण गराइएको छ। हाल नदीको पानीको मुख्य उपयोग खेती सिँचाइका लागि हुने गरेको र पानी दूषित भएमा खेती नष्ट भई गरिब किसानको आयस्रोत बन्द हुनेतर्फ सचेत गराइएको छ।
यस्तो अवस्थाले किसानहरूलाई आत्महत्या गर्न बाध्य पार्न सक्ने र त्यसको जवाफदेही कसले लिने भन्ने प्रश्न पनि ज्ञापन पत्रमा उठाइएको छ।
नदीको पानी सिँचाइका लागि मात्र नभई दैनिक जीवनयापनका लागि पनि महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै, नदीको वरिपरि बस्ने मानिस, चौपाया र जीवजन्तुले यसको उपयोग गर्नेतर्फ प्रशासनको ध्यानाकर्षण गराइएको छ।
विशेषगरी मिलको वरिपरि ऐलानी जग्गामा बसोबास गर्ने दलित समाज र गरिब कामदारहरूको जीवनमा मिलबाट निस्कने फोहर पानी, ध्वनि र धुँवाले गर्दा ठूलो क्षति पुग्ने सम्भावना रहेकोले यस विषयमा गम्भीर ध्यान दिन प्रशासन समक्ष अनुरोध गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !