३२ असार,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ।
आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय सिमरा मातहत रहेको प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको बस चेकजाँच गर्ने क्रममा सर्लाहीका एक व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा जिल्ला सर्लाही, बिसनपुर गाउँपालिका वडा नम्बर ३ बस्ने ५२ वर्षीय बिगु चौधरीका छोरा बिरेन्द्र चौधरी रहेका छन्। उनको साथबाट कालो ह्यान्डब्यागमा लुकाई छिपाई ल्याइएको ७.४७० किलोग्राम (सात किलो चार सय सत्तरी ग्राम) लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।









प्रतिक्रिया दिनुहोस् !