२३ असार,बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ बघवन गाउँमा गत जेठ २९ गते साँझ ७ बजे भएको नन्दु राउत कुर्मीको हत्या प्रकरणमा संलग्न पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाराले आदेश दिएको छ।
जिल्ला अदालत बाराका मुख्य जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले सोमबार (आज) थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।
पुरानो रिसइबीका कारण उमेशप्रसाद जयसवाललगायतले बघवन चोकस्थित राइस मिलमा काम गरिरहेका कुर्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। अचेत अवस्थामा उनलाई कलैया प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
शवको पोस्टमार्टम कलैया र वीरगन्जको नारायणी अस्पतालमा सम्भव नभएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौंमा विधि विज्ञान प्रयोगशालामा गरिएको थियो। घटनाको दुई दिनपछि कुर्मीको अन्त्येष्टि गरिएको थियो।
यस घटनामा मृतकका छोरा दीपेन्द्र पटेलले उमेश प्रसाद जयसवाल, उनकी पत्नी, सोही स्थानका दिगम्बर साह कलवार र उमेशका तीन छोरासहित ६ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय, बारामा किटानी जाहेरी दिएका थिए।
प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालय, बाराले असार २० गते पाँच जनामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा अदालतमा अभियोजन पत्र दर्ता गरेको थियो।
सोमबार भएको थुनछेक बहसका क्रममा मृतकका तर्फबाट सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता खडगबहादुर बस्नेत र अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले बहस गरेका थिए।
आरोपितहरुका तर्फबाट भने अधिवक्ता सुमनप्रसाद साहले बहस पैरवी गरेका थिए। अदालतले सबै पक्षको बहस सुनेर पक्राउ परेका पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।









प्रतिक्रिया दिनुहोस् !