२० असार,बारा । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा सडक विस्तारको आवश्यकता नभएको भन्दै स्थानीय व्यापारी र घरधनीहरूले आज बिहानैदेखि पसल बन्द गरी सडकमा टायर बालेर व्यापक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै वीरगञ्ज महानगरपालिकाले सडक विस्तारको काम सुरु गरेपछि स्थानीयहरू आन्दोलित भएका हुन्।
बिहानैदेखि वीरगञ्जको मुख्य बजार क्षेत्रका अधिकांश पसलहरू पूर्णरूपमा बन्द रहेका छन्। व्यापारी र घरधनीहरू एकजुट भएर सडकमा उत्रिएका छन् र सडक अवरुद्ध पार्दै आफ्ना मागहरू पूरा गर्न सरकारलाई दबाब दिएका छन्।
प्रदर्शनकारीहरूले सडक विस्तारको नाममा आफूहरूको रोजीरोटी र घरवासमाथि असर पार्न खोजिएको भन्दै चर्को नाराबाजी गरिरहेका छन्। उनीहरूले मुख्य सडकका विभिन्न स्थानमा टायर बालेर यातायात अवरुद्ध पारेका छन्, जसका कारण जनजीवन प्रभावित भएको छ।
प्रदर्शनमा उत्रिएका एक व्यापारीले आक्रोश व्यक्त गर्दै भने, “हाम्रो सडक साँघुरो छैन। अनावश्यक रूपमा सडक विस्तार गरेर हामीलाई विस्थापित गर्न खोजिएको छ। यसले हाम्रो व्यापार व्यवसायमा ठूलो असर पर्छ र हामी कहाँ जाने?” त्यस्तै, अर्का एक घरधनीले सडक विस्तारले आफूहरूको पुर्ख्यौली घर भत्काउनुपर्ने अवस्था आउने भन्दै आक्रोश पोखे।
वीरगञ्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै सोमबारदेखि भन्सार क्षेत्रबाट सडक विस्तारको काम सुरु गरेको दाबी गरेको थियो। महानगरले सोमबार र मङ्गलबार दुई दिन डोजर प्रयोग गरी सडक क्षेत्रका संरचनाहरू हटाएको थियो। तर, प्राप्त जानकारीअनुसार जिल्ला प्रशासन कार्यालय पर्साको दबाबपछि महानगर हाल कामबाट पछि हटेको छ।
स्थानीय प्रशासनले प्रदर्शन नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपको अवस्था आउन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ। यद्यपि, प्रदर्शनकारीहरूले सडक नछोड्ने अडान लिएका छन्।
वीरगञ्जमा लामो समयदेखि सडक विस्तारको चर्चा चलिरहेको थियो। तर, स्थानीय बासिन्दाको विरोधका कारण यो योजना अगाडि बढ्न सकेको थिएन। आजको प्रदर्शनले यो मुद्दाले पुनः उग्र रूप लिएको देखाएको छ।









प्रतिक्रिया दिनुहोस् !