१९ असार,बारा । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रदेशमा खटाएका सशसत्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई सुशासन र तस्करी नियन्त्रणका लागि कुलदेवताको कसम खुवाएर पठाए पनि मधेश प्रदेशमा त्यो पूर्णतः असफल भएको छ।
प्रदेशका आठवटै जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुले तस्करीलाई ‘ऐतिहासिक’ लाइन दिएको खुलेको छ।
स्रोतका अनुसार, डीआईजीको नेतृत्वमा रहेका प्रदेश कार्यालय र मातहतका जिल्ला कार्यालयहरूबीच समन्वयको अभावका कारण तस्करहरूले खुलेआम आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन्।
सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा सुरक्षा र अपराध नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न डीआईजीलाई विशेष निर्देशन दिएर पठाएको थियो। तर, मधेश प्रदेशमा भने अवस्था ठीक उल्टो देखिएको छ। डीआईजीले आफ्नो कुलदेवताको नाममा खाएको कसम समेत बेकम्मा साबित भएको छ।
प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा ठूला मात्रामा तस्करीका सामान भित्रिने गरेको स्थानीयहरू बताउँछन्। एसपीहरूको मिलेमतोमा तस्करीले नयाँ आयाम पाएको र यसले राजस्व संकलनमा समेत ठूलो असर पारेको अर्थविद्हरूको भनाइ छ।
यस विषयमा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयबासिन्दा तथा नागरिक समाजका अगुवाहरूले गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !